१८ बैशाख २०८१, मंगलवार ५:५४ | 04/30/2024 8:09 AM



सम्प्रेषणमा विषयान्तर – शैलेश श्रेष्ठ, ज्युजर्सी

११ चैत्र २०७२, बिहीबार २२:५२ मा प्रकाशित

ह्वाईट हिमाल टेलिभिजनमा प्रशारण भईरहेको कार्यक्रम सम्प्रेषण प्रस्तुती प्रारम्भिक दिनहरुमा एकल कुराकानीको पुरानै शैलीबाट गरियो | तर पछिल्लो दुई बर्षदेखि हामीले प्रवासी नेपाली समाजमा सतहमा देखा परेका जल्दाबल्दा सामाजिक बिषयहरुमा केन्द्रित अन्तरक्रियात्मक सामुदायिक बहस गर्न थाल्यौं | त्यसरी हामीले पूर्वीय एटलान्टिक समुद्रीतट देखि पश्चिमको प्यासेफिक समुद्रीतटसम्मको सम्प्रेषनीय यात्रा गर्यौं |

सम्प्रेषणमा वार्तालाप पछि सम्प्रेषण ह्वाईट हिमाल परिवारसंग जेरेमी र क्रिस
सम्प्रेषणमा वार्तालाप पछि सम्प्रेषण ह्वाईट हिमाल परिवारसंग जेरेमी र क्रिस

हामीले एनआरएनकै सेरोफेरोमा नौ वटा सामुदायिक बहस गर्यौं | आप्रवासन, शिक्षा, नागरिक सचेतना, न्युयोर्क सहरको म्युनिसिपल आईडी, राष्ट्रपतीय निर्वाचन, स्थानीय निर्वाचन, नमुना निर्वाचन आदी ईत्यादीका बिषयमा निरन्तर बहस गरिरह्यौं | हामीले न्युयोर्क सहरको ज्याक्सन हाईट्समा अघिल्लो हप्ता आयोजना गरेको “बिमा आतंक” नामको अन्तरक्रियात्मक सामुदायिक बहसले अहिले अमेरिकाभरी बिशेष चर्चा पाएको छ | हामी आफु आफ्नै समिक्षा, बिबेचना अथवा अतिरंजनापूर्ण आत्मप्रशंशा गर्दैनौं तर सचेतना र सामुदायिक स-शक्तिकरणको मूल ध्ययमा चाँही हामी आंशिक सफल भयौं भनेर दावा गर्छौं | हामी आफ्नो अभिष्टमा स्पष्ट छौं, हामी बिषय र मुद्दालाई आम समुदायसम्म ल्याएर मानिस र समाजलाई जागरुक र सचेत बनाउछौं तर “पुलिसिङ्ग” गर्ने काम र अन्तिम फैसला गर्ने काम गर्दैनौं |
हामीलाई लागिरहेको थियो अब सम्प्रेषणलाई विषयान्तर गर्नु पर्छ र नयाँ सार, शैली र शिल्पमा नयाँ खाले सम्प्रेषणको निर्माण र प्रशारण गर्नु पर्छ | ठिक त्यहि बखत निकट भबिष्यमै अमेरिकी दुतावास काठमाडौँमा आफ्नो कार्यकाल सुरु गर्न नेपाल जान लागेका अमेरिकी स्टेट डिपार्टमेन्टका दुई जना कुटनीतिज्ञहरु जेरेमी जुईट र क्रिस्टोफर गुचलाई सम्प्रेषणमा समेट्ने अहोभाग्य र अवसर प्राप्त भयो | यो मौकालाई समुचित तवरले सदुपयोग गर्ने अभिष्टले उनीहरुको उपस्थितिलाई हामीले आम न्युयोर्कबासी समुदायसम्म लैजाने योजना बुन्यौं र हामीले यो भागको नाम दियौं “मिनी नेपालमा अमेरिकी कुटनीतिज्ञहरुको दैनिकी” |

बसन्त डान्स सेन्टर न्युयोर्कमा नृत्य अभ्यास गर्दै
बसन्त डान्स सेन्टर न्युयोर्कमा नृत्य अभ्यास गर्दै

नेपाली भान्छाघरको तात्तातो सेलरोटी र ताजा चिया खाँदै खुवाउँदै हामीले उनीहरुलाई प्रवासको सानो नेपाल देखायौं अनि नेपालमा भात खाने समयमा मुस्तांग थकाली किचेनको फापरको ढीडो खुवायौं | शेर्पा क्यिदुकमा भएको धार्मिक अनुष्ठान, फिप्नाको संयोजनमा भएको छोटो भेटघाट अनि वार्तालाप, बसन्त डान्स सेन्टरमा सम्पन्न भएको नृत्य तालिमको दृश्य, कराते स्कुलमा भएको तालिमको दृश्य अनि सहभागिता, अधिकारको कार्यालयमा भएको साक्षात्कार, फैलँदो नेपाली व्यापार, ब्यबसाय अनि उद्यमीहरुसंगको साक्षात्कारले उनीहरुको मनमा मिनी-नेपाल भनेर जानिने करिब चालिस हजार नेपालीहरुको बाक्लो बस्ती र आवादी भएको ज्याक्सन हाईट्सको समुल दृश्य गाडा भएर रह्यो |

मुस्तांग थकाली किचेनमा ढीडो खाँदै
मुस्तांग थकाली किचेनमा ढीडो खाँदै

अघिल्लो कार्यकाल मध्यपुर्बमा सम्पन्न गरेर आफ्नो निजि रोजाईले नेपाल जान लागेका यी दुई अमेरिकी कुटनीतिज्ञहरुले दिन भरिको भेट र सम्प्रेषण ह्वाईट हिमालको छायांकन अबिष्मरणीय रहेको बताए | कुटनीतिको दायरा भित्र रहेर सिमित बिषयहरुमा मात्र सम्प्रेषणसंग कुराकानी गर्छु भनेपनि वार्तालापको क्रममा उनीहरुले नेपालको समावेसी राजनीति, संक्रमणकाल, क्युबा-अमेरिकाको नयाँ सम्बन्धको आयाम अनि अमेरिकी प्राईमरी आदीको बारेमा कुराकानी गरे | कार्यक्रम सम्प्रेषणको मिनी-नेपालको यात्रा अनि छायांकन सकेर राजधानी डी.सी. फर्कने क्रममा आधा बाटोबाट फोन गरेर उनीहरुले सहृदयी न्युयोर्कबासी नेपाली समुदायलाई मनभरिको कृतज्ञता अर्पण गर्न भ्याए | सायद त्यहि होला कुटनीति !